रसुवा,२५ मंसिर । रसुवामा कानको सानो मुन्द्रा चोर्नका लागि ६ वर्षीया बालिकाको अपहरण पछि हत्या भएको छ । कालिका गाउँपालिका वडा नम्बर –१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको र उनकाेे हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षे युवती पक्राउ परेकी छिन् । आइतबारदेखि बालिका हराए पछि परिवारले दिएको उजुरीका आधारमा प्रहरीले खोजी शुरु गरेको थियो ।खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा सुमिनाको शव मंगलबार भेटिएको प्रहरीले बताएको छ । बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको पाईएको थियो ।
बालिकाको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । उनले बयानका क्रममा बालिकाको हत्या गरेको स्वीकार गरेकी छन् ।
बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपनाले अपहरण गरी एकान्त ठाउँमा लगेर घाँटीमा डोरीले कसी क्रुर तरिकाले हत्या गरी लुकाइछिपाइ राखेको पाइएको प्रहरीले जनाएको छ ।
सपना यस अघि पनि पटक पटक सुन चोरी मुद्धामा पक्राउ परीसकेको पाईएको छ ।